पूर्वाधार विकास निर्देशनालयको मुख्य उद्देश्य बागमती प्रदेशका सबै भौगोलिक क्षेत्रहरू, विशेषगरी दुर्गम, पिछडिएका तथा विकासका दृष्टिले पछाडि परेका क्षेत्रहरूमा समेत सन्तुलित, समावेशी तथा दिगो भौतिक पूर्वाधारको विकास गर्नु रहेको छ। प्रदेशको समग्र आर्थिक समृद्धि तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले सडक, पुल, सार्वजनिक भवन तथा सहरी पूर्वाधारलगायतका क्षेत्रहरूमा एकीकृत पूर्वाधार विकासलाई प्रवर्द्धन गर्नु निर्देशनालयको प्रमुख लक्ष्य हो। यसबाट प्रदेशभित्र यातायात सम्पर्क तथा पहुँच विस्तार, सार्वजनिक सेवा प्रवाहमा सहजता, व्यवस्थित सहरीकरण र नागरिकको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ। # उक्त उद्देश्य हासिल गर्न निर्देशनालयले देहायका विषयहरूलाई प्राथमिकतामा राखी कार्य गर्नेछः १. दिगो पूर्वाधार विकास तथा मर्मतसम्भार: सडक, पुल, सार्वजनिक भवन तथा अन्य पूर्वाधारहरूको दीर्घकालीन उपयोगिता, सुरक्षा, टिकाउपन र दिगोपना सुनिश्चित गर्न नयाँ निर्माणका साथै स्तरोन्नति, पुनर्स्थापना, सुधार तथा नियमित मर्मतसम्भारका कार्यहरूलाई प्राथमिकता दिइनेछ। २. रणनीतिक सडक सञ्जाल तथा सम्पर्क विस्तार: प्रदेश राजधानीलाई जिल्ला सदरमुकाम, स्थानीय तहका प्रशासनिक केन्द्र, प्रमुख आर्थिक केन्द्र तथा अन्य महत्वपूर्ण गन्तव्यहरूसँग जोड्ने सडक सञ्जालको गुणस्तर र पहुँच अभिवृद्धि गरी सुरक्षित, भरपर्दो तथा किफायती यातायात सेवाको विकासमा जोड दिइनेछ। ३. सार्वजनिक तथा सरकारी भवन पूर्वाधारको विकास: सरकारी निकायहरूबाट प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक सरकारी भवन तथा सार्वजनिक पूर्वाधारहरूको योजनाबद्ध निर्माण, सुधार, स्तरोन्नति तथा मर्मतसम्भारमा जोड दिइनेछ। साथै सरकारी निकायहरूको कार्यसम्पादनका लागि उपयुक्त, सुरक्षित तथा सुविधासम्पन्न भौतिक संरचनाको विकास गरिनेछ। ४. व्यवस्थित तथा दिगो सहरी विकासको प्रवर्द्धन: प्रदेशका सहर तथा उदीयमान सहरी केन्द्रहरूको योजनाबद्ध विकासलाई सहयोग पुर्याउन आवश्यक सहरी पूर्वाधार तथा सार्वजनिक सुविधाहरूको विकास, विस्तार र सुधारमा जोड दिइनेछ। ५. सन्तुलित तथा समावेशी क्षेत्रीय विकास: प्रदेशका सबै भौगोलिक क्षेत्रहरूमा पूर्वाधारको समानुपातिक पहुँच सुनिश्चित गर्न भौगोलिक आवश्यकता, क्षेत्रीय असमानता, आर्थिक सम्भावना तथा नागरिकको आवश्यकताका आधारमा पूर्वाधार विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिइनेछ। विशेषगरी दुर्गम तथा पूर्वाधारको पहुँच न्यून भएका क्षेत्रहरूमा विशेष ध्यान दिइनेछ। ६. गुणस्तर, सुरक्षा तथा जलवायु उत्थानशील पूर्वाधार: सुरक्षित, भरपर्दो तथा विपद् प्रतिरोधी पूर्वाधार विकासका लागि आधुनिक प्रविधि, प्रचलित इन्जिनियरिङ मापदण्ड, गुणस्तर सुनिश्चितता, वातावरणीय संरक्षण तथा जलवायु अनुकूल निर्माण अभ्यासको अवलम्बनमा जोड दिइनेछ। ७. एकीकृत पूर्वाधार योजना तथा समन्वय: उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग तथा विकासका अपेक्षित उपलब्धि हासिल गर्न प्रदेशका सम्बन्धित मन्त्रालय, सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवालाहरूसँग सहकार्य र समन्वय गरी एकीकृत पूर्वाधार योजना तथा विकास प्रणालीको प्रवर्द्धन गरिनेछ।